काठमाडौं । आगामी भदौ २६ गते (सेप्टेम्बर ११) देखि नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक प्रतिक्रिया पाएको छ। नेपालमा रिलिज हुनुअघि नै सात देशमा आयोजना गरिएका चलचित्रका विभिन्न शोहरू ‘सोल्ड आउट’ भएपछि यसको विदेश प्रदर्शन थप व्यापक बन्ने भएको हो।
निर्माण टिमका अनुसार चलचित्र अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, दुबई, कतार र बहराइनमा प्रदर्शन हुनेछ। ती देशमा रहेका नेपाली दर्शकमाझ चलचित्रप्रति उल्लेखनीय आकर्षण देखिएको जनाइएको छ।
चलचित्रको अन्तर्राष्ट्रिय वितरण अस्ट्रेलियामा आशिस एन्ड नमस्ते इन्टरटेनमेन्ट, अमेरिका र क्यानडामा चलचित्र इन्टरटेनमेन्ट, बेलायतमा ९७७ इभेन्ट्स तथा दुबई, कतार र बहराइनमा साथीभाइ इन्टरटेनमेन्ट ले गर्नेछन्। निर्माण पक्षका अनुसार यी सबै बजारमा अग्रिम रूपमा आयोजना गरिएका शोहरू प्रदर्शनअघि नै ‘सोल्ड आउट’ भएका छन्।
सशान कँडेलको निर्देशन रहेको चलचित्रको कथा माधव शर्माले लेखेका हुन् भने सङ्गीत तथा प्रस्तुति अर्जुन पोखरेलको रहेको छ। चलचित्रमा पारस बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा देखिएका छन्।
चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माताका रूपमा रहेका छन् भने शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता हुन्। द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्ट को प्रस्तुतिमा निर्माण भएको चलचित्रले नेपालमा प्रदर्शन हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा राम्रो चर्चा बटुलेको छ।
निर्माण पक्षका अनुसार विभिन्न देशमा अग्रिम शोहरू ‘सोल्ड आउट’ हुनु प्रवासी नेपाली दर्शकमाझ नेपाली चलचित्रप्रतिको बढ्दो आकर्षणको संकेत हो। साथै, आगामी दिनमा अन्य देशहरूमा पनि चलचित्रको प्रदर्शन विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ।






