काठमाडौं, भदौ ३० । नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदारमा भायानेट कम्युनिकेसन्स भएको छ।
प्रतियोगिताका लागि आवश्यक इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउने भएको हो। अन्तर्राष्ट्रियस्तरको ई–स्पोर्ट्स प्रतियोगितामा स्थिर, निरन्तर र न्यून विलम्बता भएको इन्टरनेट महत्वपूर्ण हुने भएकाले सोहीअनुसारको कनेक्टिभिटी उपलब्ध गराउने कम्पनीले जनाएको छ।
भायानेटका अनुसार पीएमजीओसँगको सहकार्य ई–स्पोर्ट्स क्षेत्रमा कम्पनीको बढ्दो संलग्नताको महत्वपूर्ण कदम हो। यसअघि पनि भायानेटले पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) मा आधिकारिक इन्टरनेट साझेदारका रूपमा सेवा प्रदान गरेको थियो।
नेपालमा ठूला अन्तर्राष्ट्रिय गेमिङ तथा ई–स्पोर्ट्स प्रतियोगिता आयोजना हुने क्रम बढ्दै जाँदा त्यस्ता आयोजनाका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधारमा निरन्तर योगदान गर्ने भायानेटले जनाएको छ। भायानेटले उच्चगतिको फाइबर इन्टरनेट तथा डिजिटल कनेक्टिभिटी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।






