Spread the love
रत्ननगर। विजयादशमी २०८३ को अवसरमा चितवनको रत्ननगर नगरपालिका–११, जिरौनामा आयोजित मैत्रीपूर्ण ‘सी–लेभल डबल ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न भएको छ। खेलकुद विकास समिति रत्ननगर–११, जिरौनाको आयोजनामा असोज १७ र १८ गते सञ्चालन भएको प्रतियोगितामा पूर्वी चितवनको पर्सास्थित कबडहल प्रथम भएको छ। कालिका नगरपालिका–स्थित कालिका कबडहल द्वितीय हुँदा जयमंगला कबडहलका दुई समूह तृतीय भएका छन्।
प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेको छ। उपविजेता टोलीले १० हजार रुपैयाँसहित मेडल र ट्रफी तथा तृतीय हुने दुई टोलीले ६–६ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेका छन्।
प्रतियोगितामा चितवनका विभिन्न स्थानबाट २० वटा खेल समूहको सहभागिता रहेको प्रतियोगिता संयोजक पूर्णबहादुर सिङतानले जानकारी दिनुभयो।
संयोजक सिङतानका अनुसार प्रतियोगितालाई केवल प्रतिस्पर्धाका रूपमा नभई स्थानीयस्तरमा खेलाडीबीच आपसी चिनजान, भाइचारा र सद्भाव बढाउने माध्यमका रूपमा आयोजना गरिएको हो। उहाँले भन्नुभयो, “खेलकुदले युवालाई स्वस्थ र अनुशासित बनाउनाका साथै आपसी सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छ। सी–लेभलका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने र नियमित रूपमा खेलकुदमा जोडिने वातावरण बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौँ।” उहाँले आगामी दिनमा पनि स्थानीय खेलाडीको क्षमता विकास र खेलकुदको प्रवर्द्धनका लागि यस्ता प्रतियोगितालाई निरन्तरता दिने बताउनुभयो। “स्थानीयस्तरमा हुने प्रतियोगिताले नयाँ खेलाडीलाई अवसर दिन्छ। सबैको सहयोग र सहभागिता रहे आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र व्यापक बनाउने हाम्रो योजना छ,” उहाँले भन्नुभयो।
खेलकुदमार्फत आपसी भाइचारा, सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता संयोजक पूर्णबहादुर सिङतानको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा रत्ननगर नगरपालिका–१२ का वडा अध्यक्ष सुन्दरमणि सुवेदी, वडा नम्बर १५ का वडा अध्यक्ष आशिक तामाङ तथा पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोविन्द सिङतानलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सन्तोष गोलेले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय