Spread the love

दाङ । दाङको बिजौरीदेखि कोठरीसम्मको १५ दशमलव ५८ किलोमिटर सडक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । सडकको ड्रेन निर्माण तथा बेस–सबबेस राख्ने काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालित ग्रामीण सम्पर्क सुधार परियोजनामार्फत ४४ करोड ८७ लाख रुपैयाँको लागतमा सडक कालोपत्र गर्न लागिएको हो । बिजौरी–बसदबारा–जमुनी–लक्ष्मीपुर–दक्षिण कुररिया–कञ्जवार हुँदै कोठरीसम्म सडक निर्माण हुनेछ ।

निर्माण कम्पनी एमसी–एएनएस बिजी जेभीका प्रतिनिधि सिलन बरालका अनुसार अब छिट्टै सडक कालोपत्रको काम सुरु हुनेछ । निर्माणकार्यलाई तीव्रता दिन तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत स्थानीय व्यवसायी, निर्माण सामग्री आपूर्तिकर्ता तथा रेन्टल सेवा प्रदायकसँग सहकार्य गरिएको उनले बताए ।

स्थानीय निर्माण व्यवसायीसँगको समन्वयमा आवश्यक उपकरण, निर्माण सामग्री र जनशक्ति परिचालन गरिएकाले काम सहज भएको कम्पनीको भनाइ छ । सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिनेछ । त्यसका लागि आवश्यक अस्फाल्ट प्लान्टलगायत उपकरणसमेत जडान भइसकेका छन् ।

कम्पनीले दसैँअघि बेस तथा सबबेसको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । सडक निर्माणमा गुणस्तरलाई प्राथमिकतामा राखिएको जनाउँदै आगामी चैतभित्रै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको प्रतिनिधि बरालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय