Spread the love

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१५ स्थित श्री आधारभूत विद्यालयअन्तर्गत नमुना स्काउट ट्रुपको आयोजनामा प्रथम रनिङ शिल्ड अन्तर–पेट्रोल पाककला प्रतियोगिता तथा मिनी फुड फेस्टिभल–२०८३ सम्पन्न भएको छ ।

शुक्रबार आयोजित प्रतियोगितामा सातवटा पेट्रोलका स्काउटहरूले विभिन्न परिकार तयार गरी आफ्नो पाककला र सिर्जनात्मक क्षमता प्रदर्शन गरेका थिए । प्रतियोगितामा ईगल पेट्रोल प्रथम, वुल्फ पेट्रोल द्वितीय र कोयल पेट्रोल तृतीय भएका छन् ।

प्रतियोगिताको शिक्षक तथा स्काउटर सेवक अधिकारीले संयोजन गरेका थिए भने कालिका ओपन स्काउट क्रू (KOSC) ले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा दुई जना उत्कृष्ट गर्ल स्काउट र दुई जना उत्कृष्ट ब्वाइज स्काउटलाई समेत सम्मान गरिएको थियो । विजेताहरूलाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

रत्ननगर नगरपालिका–१५ का वडाध्यक्ष आसिक तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्का, प्रधानाध्यापक तथा नमुना स्काउट ट्रुपका संरक्षक वसन्तराज पौडेल, विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष तामाङले स्काउटिङ गतिविधिले बालबालिकामा अनुशासन, नेतृत्व क्षमता, सेवाभाव र व्यावहारिक सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा पाककला प्रतियोगितासँगै तयार पारिएका परिकारको बिक्री, दसैँ विशेष सांस्कृतिक प्रस्तुति तथा शुभकामना आदानप्रदानसमेत गरिएको थियो । कार्यक्रमको सभापतित्व नमुना स्काउट ट्रुपका समिति सदस्य स्काउटर दुर्गा पन्तले गरेका थिए भने सञ्चालन सेवक अधिकारीले गरेका थिए ।

प्रतियोगिताले बालबालिकामा समूहकार्य, सहकार्य, आत्मनिर्भरता र सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय