रत्ननगर । महिलालाई सीप र आयआर्जनसँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले रत्ननगर नगरपालिका–५, झुवानीमा सञ्चालित पाँचदिने मौरीपालन तालिम शुक्रबार सम्पन्न भएको छ। तालिममा १६ जना महिला सहभागी भएका थिए।
झुवानी सामुदायिक पुस्तकालयको आयोजना तथा Six Degree Network for Women, रत्ननगर–५ वडा कार्यालय र मौरीपालन विकास केन्द्र, भण्डाराको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।


तालिम समापन कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिका–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंले महिलाहरूलाई तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा अघि बढ्न आग्रह गरे। उनले अनुदानको मात्रै आशा गर्नुभन्दा मेहनत, लगनशीलता र निरन्तरताका साथ व्यवसाय सञ्चालन गर्न सके सफल हुन सकिने बताए।
“अनुदानको भर परेर मात्र हुँदैन, आफूले सिकेको सीपलाई प्रयोग गर्दै मेहनतका साथ व्यवसायमा लाग्नुपर्छ। लगनशील भएर राम्रो काम गर्न सके अवसर र सहयोग आफैँ आउँछन्,” उनले भने। महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता सीपमूलक तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रमका सभाध्यक्ष तथा झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्यालले परिवारलाई आर्थिक रूपमा सबल बनाउन महिलाहरू आत्मनिर्भर हुन आवश्यक रहेको बताए।
उनले महिलालाई सीप र आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको तालिमले आफ्नै व्यवसाय सुरु गर्न तथा परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपाल मौरीपालक महासङ्घ, रत्ननगर नगर समितिका अध्यक्ष इन्द्रप्रसाद रिमालले मौरीपालनलाई व्यावसायिक रूपमा अघि बढाउन सके आम्दानीको राम्रो माध्यम बनाउन सकिने बताए।
पाँच दिनसम्म सञ्चालन भएको तालिमले सहभागी महिलालाई मौरीपालनसम्बन्धी ज्ञान र सीप प्रदान गर्नुका साथै आवश्यक सामग्रीसमेत उपलब्ध गराएकाले उनीहरूलाई व्यावसायिक मौरीपालनतर्फ अग्रसर हुन सहयोग पुग्ने पुस्तकालयका अध्यक्ष अर्यालले बताए







