असोज २६ । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जमरा राखिएको थियो। सोही दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो।


नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा भवानीको विशेष पूजा आराधना गर्छन्। नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवीलाई तपस्या, त्याग र साधनाको प्रतीकका रूपमा पूजा गरिन्छ। नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ।
यसैबीच, काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँ घरमा पनि परम्पराअनुसार ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ।







