Spread the love

चितवन । कालिका नगरपालिकाले स्थानीय नागरिक, व्यवसायी तथा विभिन्न संघसंस्थालाई स्थायी लेखा नम्बर (प्यान) सम्बन्धी सेवा स्थानीय स्तरमै उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि कात्तिक मसान्तसम्म १४२ वटा नयाँ स्थायी लेखा नम्बर जारी गरेको छ ।

आन्तरिक राजस्व कार्यालय भरतपुरसँगको समन्वय तथा सम्झौताअनुसार नगरपालिकाले २०८२ माघ १ गतेदेखि आफ्नै कार्यालयबाट प्यानसम्बन्धी सेवा सञ्चालन गर्दै आएको हो ।

नगरपालिकाले सार्वजनिक गरेको प्रगति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको चार महिनामा ६ वटा संस्थागत, ७० वटा व्यावसायिक र ६६ वटा व्यक्तिगत स्थायी लेखा नम्बर जारी गरिएको छ ।

यसै अवधिमा २१ वटा केवाईटी अद्यावधिक, २६ वटा पीडीसीआर विवरण सच्याउने तथा ३९ वटा स्थायी लेखा नम्बर बन्द गर्ने सेवा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले प्यानसम्बन्धी सेवा स्थानीय स्तरमै उपलब्ध गराउँदा नागरिक तथा व्यवसायीलाई सामान्य कामका लागि भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयसम्म पुग्नुपर्ने बाध्यता कम भएको जनाएको छ ।

स्थायी लेखा नम्बरसम्बन्धी सेवा प्रवाहको प्रगति विवरण नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालले हस्ताक्षर गरी सार्वजनिक गर्नुभएको प्रतिवेदनमार्फत जानकारी गराइएको हो ।

नगरपालिकाले स्थानीय नागरिक, व्यवसायी तथा संघसंस्थालाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको यस सेवाको प्रगति विवरणसमेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय