Spread the love

नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ।

नयाँदिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ बजे दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी हित तथा सहकार्यका विषयमा छलफल हुने र महत्वपूर्ण विषयमा सहमति तथा सम्झौता हुने जनाइएको छ।

भेटवार्तापछि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा केही आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाह भारतीय समकक्षी मोदीले आयोजना गरेको दिवाभोजमा समेत सहभागी हुनुहुनेछ।

त्यसैगरी प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसअघि उहाँले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुहुनेछ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्च सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी छन्। दुईदिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री शाह आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय