काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई विदेश जान रोक लगाइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेको एन्फाका पदाधिकारीमाथि आर्थिक विषयको छानबिनका लागि यस्तो निर्णय गरिएको हो ।
खेलकुद मन्त्रालय स्रोतका अनुसार एन्फाको आर्थिक कारोबारबारे अनुसन्धान भइरहेका कारण सबै सम्बन्धित पदाधिकारीलाई विदेश यात्रा गर्न रोक लगाइएको हो ।
यसअघि राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न कार्यकारी सदस्य कमल भट्टराई को संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो । खेलकुद मन्त्रालयमार्फत आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग को पत्रअनुसार छानबिन समिति बनाइएको राखेप सदस्य सचिव रामचरित्र मेहता ले जानकारी दिएका छन् ।
छानबिनका क्रममा राखेपले एन्फा पदाधिकारीको पासपोर्ट रोक्का गर्न खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । मन्त्रालयले गृह मन्त्रालय मार्फत पत्राचार गरेपछि अध्यागमन विभाग ले पासपोर्ट रोक्का गरेको बताइएको छ ।
अर्ली इलेक्सन विवादका कारण एन्फालाई राखेपले चैत ११ गतेदेखि तीन महिनाका लागि निलम्बन गरेको थियो ।
















