Spread the love

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा खराब मौसम रहने भन्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानअनुसार चैत ६ गतेदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ। साथै शुक्रबारदेखि बागमती र लुम्बिनी प्रदेशका तराई आसपासका जिल्लामा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (करिब ११० किमी/घण्टा) चल्ने अनुमान गरिएको छ।

प्राधिकरणले तीव्र हावाहुरीका कारण रूख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने जोखिम रहेको जनाएको छ। पछिल्ला दिनमा हावाहुरीका कारण मानवीय क्षति समेत भएको उल्लेख गर्दै थप सावधानी अपनाउन अनुरोध गरिएको छ।

नागरिकलाई आवश्यक बाहेक यात्रा नगर्न, हावाहुरी चलेको बेला घरभित्रै सुरक्षित रहन, झ्यालढोका राम्ररी बन्द गर्न, आगोका स्रोतहरू नियन्त्रणमा राख्न तथा सवारी साधन सुरक्षित स्थानमा राख्न आग्रह गरिएको छ। साथै, हावाहुरीका बेला कमजोर संरचना, रूख तथा बिजुलीका तार नजिक नजान पनि चेतावनी दिइएको छ।
प्राधिकरणले मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय