काठमाडौं । भक्तपुरस्थित मनोहरा खोलाको किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने कार्य आज बिहानदेखि पुनः सुरु गरिएको छ । हिजो साँझ स्थानीयवासी र सुरक्षाकर्मीबीच ढुंगामुढा भएपछि रोकिएको संरचना हटाउने काम फेरि अघि बढाइएको हो ।
हिजो भएको झडपमा २२ जना सुरक्षाकर्मी घाइते भएका थिए । सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन उपत्यकाका तीनवटै जिल्लाबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का का अनुसार १३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी गरी कुल १९ सय सुरक्षाकर्मी परिचालन गरेर बस्ती हटाउने काम सुरु गरिएको हो ।
स्थानीयवासीले आफैं घरटहरा भत्काउने बताएपछि बिहान ९ बजेसम्मको समयसीमा दिइएको थियो । त्यसपछि अधिकांश घरटहराबाट सामान सारेर खाली गरिएपछि डोजर प्रयोग गरेर संरचना हटाउन थालिएको प्रहरीले जनाएको छ ।
उक्त क्षेत्रमा कुल ७७७ वटा घरटहरा रहेको बताइएको छ ।















