जनकपुरधाम । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोल मा चट्याङ परेर घरमा आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ भने एक जना घाइते भएका छन्।
शनिबार राति करिब ११ः३० बजे परेको चट्याङका कारण स्थानीय रामस्वरुप रायका करिब ६० वर्षीय छोरा सिताराम यादव घाइते भएका हुन्। प्रहरीका अनुसार यादवको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते यादवलाई तत्काल उपचारका लागि तराई अस्पताल लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको र उपचार जारी छ।
घटनाबारे आइतबार बिहान करिब ३ बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवा बाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीका अनुसार चट्याङपछि लागेको आगलागीले यादवको घर तथा गोठमा ठूलो क्षति पुर्याएको छ। आगलागीमा ९ वटा बाख्रा र ५ वटा भैंसी जलेर मरेका छन् भने एक वटा पाडा घाइते भएको छ।
यसैगरी घरमा भण्डारण गरिएको करिब १ क्विन्टल चामल, १० क्विन्टल धान, २ क्विन्टल गहुँ, १ क्विन्टल मसुरोको दाल, भाँडाकुँडा तथा लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाही ले जनाएको छ। घटनाबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
















