विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमणी बाट खटिएको संयुक्त टोलीले झापाको अर्जुनधारा नगरपालिका–५ बाट मे १ ह २४४३ नम्बरको अटो चालक मोरङ पथरीशनिश्चरे नगरपालिका–५ का सागर दर्जीलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। यस्तै इलाका प्रहरी कार्यालय बुधबारे ले बुद्धशान्ति नगरपालिका–१ का हरि प्रसाद ढकाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी इलाका प्रहरी कार्यालय बिराटचोक ले सुन्दरहरैचा नगरपालिका–९ बाट सोही स्थानका विकल राईलाई ७० चक्की प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिएको छ।
उता उदयपुरमा प्रहरी चौकी लालपट्टा ले त्रियुगा नगरपालिका–१० का आशिष सुर्खेती र त्रियुगा नगरपालिका–३ का सन्देश राउतलाई ४१ एम्पुल प्रतिबन्धित औषधिसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सबै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















