काठमाडौं । नेपाली कांग्रेस का महामन्त्री प्रदीप पौडेल ले सुकुम्बासी बस्ती हटाउने क्रममा देखिएको हतारोप्रति असन्तुष्टि जनाउँदै ‘सुकुम्बासी नै थिएनन्, हुकुम्बासी मात्रै थिए’ भन्ने प्रचार गलत भएको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पर्याप्त सूचना र समय नदिई डोजर प्रयोग गर्नु मानवीयता र व्यवहारिकता विपरीत भएको टिप्पणी गरे। वास्तविक सुकुम्बासीको पहिचान गरी वैकल्पिक पुनर्स्थापनाको व्यवस्था सुनिश्चित गरेपछि मात्रै बस्ती हटाउनुपर्ने उनको जोड थियो।
पाल्पा क्षेत्र नं. १ बाट कांग्रेसका तर्फबाट निर्वाचित सांसद सन्दीप राना लाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै पौडेलले वर्तमान राजनीतिक अवस्थाबारे पनि टिप्पणी गरे। “झन्डै दुई तिहाइको सरकार भएकाले संख्याको बलमा गलत काम अघि बढ्न सक्छ, त्यसको डटेर सामना गर्नुपर्छ,” उनले भने।
उनले संवैधानिक परिषद् लाई सर्वपक्षीय र सन्तुलित बनाउनु राज्यको आधारभूत मर्म भएको उल्लेख गर्दै एकपक्षीय हुने गरी पुनर्संरचना गर्नु गलत भएको तर्क गरे। लोकतान्त्रिक मूल्य–मान्यता कमजोर हुने खालका कदम नचाल्न उनले सरकारको ध्यानाकर्षण गराए।
कार्यक्रममा कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिका तर्फबाट पार्टी सुदृढीकरणको विषय पनि उठाइएको थियो। जिल्ला सभापति हिमालदत्त श्रेष्ठ ले बलियो प्रतिपक्षको भूमिकामा कांग्रेस अझ सक्रिय हुनुपर्ने धारणा राखे।
















