काठमाडौँ । निजी इन्टरनेट सेवा प्रदायकले सुपथ मूल्यका इन्टरनेट प्याकेज बिक्री बन्द गर्ने निर्णय गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले भने हाल सञ्चालनमा रहेका इन्टरनेट प्याकेज निरन्तरता दिने जनाएको छ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार कम्पनीले अहिले उपलब्ध गराइरहेका प्याकेजको मूल्य बढाउने कुनै योजना छैन। उनले टेलिकमका इन्टरनेट प्याकेज सर्वसुलभ रहेको दाबी गर्दै ग्राहकले हाल पाइरहेको सेवा र ब्यान्डविथमा कमी नहुने बताए।


निजी इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालले इन्धन तथा फाइबरको मूल्यवृद्धि, मुद्रास्फीति र एआईका कारण इलेक्ट्रोनिक चिपसेटको मूल्य बढेको भन्दै सञ्चालन खर्च धान्न कठिन भएको जनाउँदै सुपथ मूल्यका कम स्पिडका प्याकेज बिक्री बन्द गर्ने निर्णय गरेको थियो।
यसबीच नेपाल टेलिकमले ५० एमबिपिएसको फाइबर इन्टरनेट वार्षिक रु. ८ हजार ४९९ मा उपलब्ध गराउँदै आएको छ। दुई वर्षको प्याकेज एकैपटक लिँदा रु. १४ हजार ९९९ तिर्नुपर्ने कम्पनीले जनाएको छ। त्यस्तै ७५ एमबिपिएसको वार्षिक रु. १० हजार ४९९, १०० एमबिपिएसको रु. ११ हजार ४९९, १५० एमबिपिएसको रु. १२ हजार ९९९ र २०० एमबिपिएसको रु. १६ हजार ४९९ शुल्क तोकिएको छ।
वार्षिक प्याकेज लिने ग्राहकले मोबाइलमा दैनिक ६०० एमबीसम्म डाटा निःशुल्क पाउने सुविधा पनि रहेको टेलिकमले जनाएको छ। कम्पनीका अनुसार गत साउन मसान्तसम्म फाइबर इन्टरनेटका ग्राहक चार लाख दुई हजार ११० पुगेका छन्।
टेलिकमले इन्टरनेट जडानका लागि कार्यालय धाउनुपर्ने व्यवस्था हटाउँदै १९८ नम्बरमा फोन गरेर सेवा माग गर्न सकिने जनाएको छ। सार्वजनिक बिदा तथा चाडपर्वमा समेत काउन्टर सञ्चालन गर्ने व्यवस्था गरिएको कम्पनीको भनाइ छ।
टेलिकमका अनुसार एनटी फाइबर सेवा हाल ७७ जिल्लाका करिब ४०० पालिका तथा पालिका केन्द्रसम्म पुगेको छ। फाइबर नपुगेका स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराइरहेको पनि कम्पनीले जनाएको छ।
स्मार्ट टिभीमा सेट–टप बक्स नचाहिने
यसैबीच नेपाल टेलिकमले एनटीटीभी सेवामा एन्ड्रोइड स्मार्ट टिभी प्रयोगकर्ताका लागि भर्चुअल सेट–टप बक्स सुविधा पनि सुरु गरेको छ।
ग्राहकले गुगल प्लेस्टोरबाट ‘स्मार्ट एनटीटिभी’ एप इन्स्टल गरी सेट–टप बक्सबिनै टेलिभिजन सेवा प्रयोग गर्न सक्नेछन्। नयाँ प्याकेज खरिद गर्दा भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिए रु. एक हजार छुट दिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।
टेलिकमले एउटै फाइबरमार्फत तीव्र गतिको इन्टरनेट, टेलिफोन, टेलिभिजन र मोबाइल डाटासहितको सेवा उपलब्ध गराउँदै आएको छ।






