Spread the love

म्याग्दी । बाढीपहिरोका कारण अवरुद्ध चीन–भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटा भिरमा मार्ग छिचोलिएको छ।

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले करिब २५० मिटर सडक कटान गरी बगाएपछि कुनौटा खण्डमा आवागमन पूर्णरूपमा प्रभावित भएको थियो। सडक योजनाले माटो फिलिङ गरी दुईतर्फबाट सडक जोडेको जनाएको छ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार मार्ग जोडिए पनि सडकलाई सवारी सञ्चालनयोग्य बनाउन लेभल मिलाउने, ग्रेड सुधार गर्ने र थप मर्मतको काम भइरहेको छ। उनका अनुसार सवारी सञ्चालन सहज बनाउन अझै एक–दुई दिन लाग्न सक्छ।

कुनौटामा बुधबार दुईतर्फबाट छवटा एक्साभेटर र माटो बोक्ने त्यति नै सङ्ख्यामा टिप्पर परिचालन गरिएको थियो। पोखरेबगरमा बाढीले बगाएको सडक पुलको पहुँचमार्गबाहेक अधिकांश स्थानमा प्रारम्भिक मर्मतको काम सम्पन्न भएको आयोजनाले जनाएको छ।

पर्वतको कुश्मा–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको कोरला नाकासम्म जोडिने २०२ किलोमिटर सडक असोज दोस्रो साताको बाढीपहिरोपछि ५५ स्थानमा अवरुद्ध भएको थियो। कालीगण्डकीको बाढीले मात्रै १० स्थानमा सडक कटान तथा क्षति पुर्‍याएको थियो।

पोखरेबगर–कुनौटा खण्डका रातोपानी, धीरच्याङ, भीरकाटे, महभीर, तिप्ल्याङ र बेगखोलामा पहिरो हटाउने तथा नयाँ ट्र्याक खोलिएका स्थानमा ग्रेड, घुम्ती र सडकको चौडाइ मिलाउने काम भइरहेको छ।

पोखरेबगरमा ग्यावियन पर्खाल निर्माण गरी पुललाई सडकसँग जोड्ने काम पनि भइरहेको छ। आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको प्राविधिक विनोद पौडेलले बताए।

सडक खुलाउन सडक विभाग र निर्माण व्यवसायीका १५ एक्साभेटर, १२ टिप्पर र १५ लोडरसहित जनशक्ति परिचालन गरिएको छ। विपद्बाट सडकमा रु. ८० देखि ९० करोडसम्म क्षति पुगेको प्रारम्भिक अनुमान छ भने पुनर्निर्माणका लागि करिब रु. ३ अर्ब लाग्ने सडक विभागको आकलन छ।

रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको छ। सडक अवरुद्ध हुँदा करिब ५०० वटा कन्टेनर गन्तव्यतर्फ जान प्रतीक्षामा छन्। मुस्ताङको स्याउ बजार पठाउने समय, दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा झार्ने समय र पर्यटकीय याम सुरु भएसँगै सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय