काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार सार्वजनिक गरिसकेको छ।


यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टा पछि सारिएको हो। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
प्रतिनिधिको प्रदेश तथा समूहअनुसार विभिन्न स्थानमा मतदान केन्द्र तोकिएको छ। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि खुलामञ्चमा मतदान केन्द्र ‘ख’ तोकिएको छ।
त्यस्तै, गण्डकी प्रदेशका प्रतिनिधिले हिमाली हल, मधेश प्रदेशका प्रतिनिधिले तराई–मधेस हल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले पहाड हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ।
मतदानस्थल प्रवेश गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत आचारसंहिताले निषेध गरेका सामग्री नलैजान प्रतिनिधिलाई आग्रह गरेको छ।
कांग्रेसको केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया यसअघि नै पूरा भइसकेको छ। आजको मतदानबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुनेछ।
मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र मतगणना सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।






