रत्ननगर । सुर्यपुर एफसी प्रथम पञ्चकन्या गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगरको टिकौलीचौरमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा एन्फा मकवानपुरलाई ३–० गोल अन्तरले पराजित गर्दै सुर्यपुरले फाइनलमा स्थान पक्का गरेको हो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुर्यपुरका पासाङ लामा म्यान अफ दी म्याच घोषित भए । उनलाई युवा व्यवसायी सनम महतले पुरस्कार हस्तान्तरण गरेका थिए ।


रत्ननगर नगरपालिका–१२ स्थित न्यू पञ्चदीप युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको छ ।
क्लबका अध्यक्ष किरण थिङका अनुसार उपाधिका लागि शनिबार लस्सो कन्सल्टेन्सी र सुर्यपुर एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो ३ बजेबाट सुरु हुने छ ।
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक दिनेश रानामगरले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।







