रत्ननगर, असाेज २४ । चितवनका थारु समुदायले शनिवार दोस्रो ठूलो पर्व यमोसा अर्थात् (पितृ औंसी) मनाउँदैछन् । दिवंगत भएका आफन्तहरुको सम्झनामा मनाइने यो पर्वको छुट्टै महत्त्व छ ।
यमोसा पर्वमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृलाई तर्पण गर्ने गर्दछन् । शुक्रवार व्यक्तिगत वा सामुहिक रुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा घौका, जाल, डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछा मारेका थिए ।


आज (शनिवार) यमोसाको दिन बिहानै पुरुषहरु आफूले देखेका दाभी (सिरु) काटी ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाइ धोइपखाली घर अगाडि गाईको गोबरले पोतेको ठाउँमा पिर्का वा कुर्सीमा सो सिरुको मुठा राखी पितृ स्थापना गरिन्छ । त्यसलाई थारु भाषमा (पहुनी बेठोइ) भनिन्छ ।
पहुनीलाई विभिन्न थरिका फूलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखेर यो पर्व मनाइन्छ । यो पर्व भाेली (आईतवार) बिहान समापन हुन्छ ।
यमोसा (पितृऔंसी) को परिचय थारु जाति संस्कृति सम्पदा भरिपूर्ण भएको समुदाय हो । थारु जातीले वर्षभरिमा दर्जनौं पर्वहरु मनाउँछन् । प्रत्यक पर्वको छुट्टै पहिचान, चिनारी अनि महत्व छ । यी पर्वहरुमध्ये यमोसा (पितृऔंसी) पर्व पनि एउटा ठूलो पर्व हो । यो पर्व चितवन अनि नवलपरासीको थारु समुदायले मात्रै मनाउने गर्दछन् । वर्षभरिमा मृत्यु भएको हजुरबुबा, हजुरआमा, आमा, बुबा सम्झिने गर्दछ अनि त्यही दिन औंसी पनि परेको हुनाले यो पर्वलाई पितृ औंसी पनि भन्ने गरिन्छ । यो पर्व दसैंको घटस्थापनाको ठीक अगाडिको दिनमा पर्ने गर्दछ ।
यमोसा पर्व दुई दिन धुमधामले मनाउने गरिन्छ । यमोसाको अगाडिको दिनमा माछा मार्ने गरिन्छ । त्यो दिनमा एक्लै अथवा समुहमा मिलेर ताल पोखरी नदीहरुमा घौंका, जाल, कोईनी, ढडिया, डेली सामानहरु लिएर माछा मर्न जाने चलन छ । अर्को दिन अर्थात यम्वासाक दिनमा बिहानै पुरुषहरु आफूले देखेको सिरुको घाँस काटेर ल्याउने गर्दछन् ।
सिरुको घाँस राम्रोसँग निफनेर एक हात जति लामो कुचोको मुठा बनाएर बाँध्ने गर्दछन् । घरको अगाडि आँगनमा पिर्कामा राखेर बसाउने कुचोको मुठोलाई पहुनी बसालेको भनिन्छ । पहुनीलाई घेरै किसिमको फुलमाला हालेर सजाइदिने गरिन्छ । पाहुनीलाई घाँम नलागोस भनेर छाँता ओढाउने पनि गरिन्छ । पाहुनीको अगाडि सुकमेल, सुपारी, रक्सी, चुरोट, सुर्ती राखिदिने गरिन्छ । त्यो दिन बिहानै साना बच्चा बच्चीदेखि लिएर बूढाबूढीसम्मका सबैले पहिल्यै मृ’त्यु भइसकेका हजुरबुबा, हजुरआमा, बुबा, आमाहरुलाई सम्झेर कुश पानी चढाई सम्झी पानीले नुहाईदिने गरिन्छ । नुहाईसकेपछि सफालुगा लगाएर पाहुनीको अगाडि बसेर घरका सम्पूर्ण परिवार मिलेर अलिअलि पानी अनि रक्सीको थोपा चढाउने गरीन्छ। त्यस्पछि मात्रैे भात अनि अरु खानेकुरा खान मिल्ने गर्दछ ।
पहिला सुरुमा आफ्नो छोरीज्वाई अनि अन्य पाहुनालाई बोलाएर आदर सम्मानका साथ चौंरासी व्यञ्जन खुवाउने गरिन्छ । (यस्लाई पितरी बसालेको भनिन्छ) घरमा आएका पाहुनाहरुलाई खाना खुवाएर मात्रै आफु अनि घरका अन्य सदस्यहरु खाना खान बस्ने गरिन्छ । अनि केटीहरुले पाहुनाहरुलाई कपालमा तेल लगाएर काङ्गीयोले कपाल कोरिदिने गर्दछन् । त्यसपछि उल्टो नाङ्लोमा पानी हालेर पाहुनाहरुलाई पानी छर्किने गरिन्छ । यस्लाई पितपितराईन लखेटेको भनिन्छ । त्यो घरमा जोसुकै आएपनि त्यो दिनमा पाहुना आएको भन्ने गरिन्छ ।
अनि पाहुनालाई केहि खानेकुरा जस्तै रक्सी, जाँड, मासु भात, खुवाएर आदर सम्मानका साथ मात्रै बिदा गर्ने गरिन्छ । यमोसाको दिनमा पाहुनाहरुलाई पितृगणको रुपमा हेर्ने चलन छ । यस्तै खानपिन दिनभरी चलिरहन्छ । यता गाउँका सम्पूर्ण मानिसहरु एकैठाउँमा भेलाभई पिङ खेली रमाईलो गर्ने गरिन्छ ।
पहिले पहिले एउँटै ठूलो रुखमा पाँच छ ओटा पिङ हाली खल्ने गरिन्थ्यो । अनि केटाहरु साँझ पख गाउँको चोकमा गई सिरु घाँसले बाटेको डोरी म्वाढ्हा गाड्छन अनि बलिया बलिया मानिसहरुले त्यस्लाई उखाल्न कोसिस गर्ने गर्दछन् । साँझ पख स–साना केटाकेटीहरु ग्रुप ग्रुपमा मिलेर सम्पूर्णको घर घरमा गई यमोसा खाने चलन छ । प्रत्यको घरमा धेरै किसीमको परम्परागत गीतहरु गाएर यमोसा खाने गर्दछन् ।







