Spread the love

चितवन। साधारण किसान परिवारमा जन्मिएर निरन्तर संघर्ष, अध्ययन र समर्पणको बलमा विशेषज्ञ चिकित्सक तथा अस्पताल प्रशासकका रूपमा स्थापित प्राध्यापक डा. कृष्णप्रसाद पौडेलको जीवनयात्रा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। गाउँको सरकारी विद्यालयबाट शिक्षा प्रारम्भ गरेका उहाँ आज जटिल शल्यचिकित्सा, अस्पताल व्यवस्थापन र स्वास्थ्य सेवाको सुधारमा योगदान पुर्‍याउँदै आएका चिकित्सक हुनुहुन्छ।

चितवनको पुरानो पदमपुरमा पिता कपिलमणि पौडेल र माता तुलसीदेवी पौडेलको कोखबाट जन्मिनुभएका डा. पौडेलको पारिवारिक पृष्ठभूमि साधारण किसान परिवारको हो। उहाँका पिता बागलुङबाट चितवन झर्नुभएको थियो भने माता गुल्मीबाट चितवन आउनुभएको थियो। यही साधारण पारिवारिक परिवेशमा हुर्किनुभएका उहाँको बाल्यकाल रत्ननगरको बकुलहर टाँडीमा बित्यो।

पारिवारिक संस्कार, पिताको सामाजिक सेवाभाव र शिक्षाप्रतिको लगावले उहाँको जीवनमा सकारात्मक प्रभाव पार्यो। नेपाल माध्यमिक विद्यालय, टाँडीबाट एसएलसी उत्तीर्ण गर्नुभएका उहाँले सरकारी विद्यालयको नेपाली माध्यमबाट अध्ययन गर्दै उच्च शिक्षाको यात्रा सुरु गर्नुभयो।

नेपाली माध्यमको विद्यार्थीबाट विज्ञान अध्ययनको चुनौती

एसएलसीपछि त्रिचन्द्र कलेजमा विज्ञान विषय अध्ययन गर्दा उहाँले नयाँ चुनौती सामना गर्नुपर्‍यो। नेपाली माध्यमबाट विद्यालय शिक्षा हासिल गरेका उहाँका लागि अंग्रेजी माध्यममा विज्ञान विषय अध्ययन गर्नु सहज थिएन। भाषागत कठिनाइसँगै नयाँ शैक्षिक वातावरणमा आफूलाई अनुकूल बनाउनु पनि चुनौतीपूर्ण थियो।

तर कठिनाइलाई बाधाका रूपमा होइन, सिक्ने अवसरका रूपमा लिनुभएका उहाँले निरन्तर मेहनत, अनुशासन र आत्मविश्वासका साथ अध्ययनलाई अघि बढाउनुभयो। यही संघर्षले उहाँलाई चिकित्सा क्षेत्रतर्फ अघि बढ्ने आधार तयार गर्यो।

एमबीबीएस अध्ययनका लागि छनोट भएपछि उहाँको चिकित्सक बन्ने सपना क्रमशः साकार हुँदै गयो। उहाँले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस अध्ययन पूरा गर्नुभयो। त्यसपछि काठमाडौँबाट हाडजोर्नी शल्यचिकित्सामा एमएस अध्ययन पूरा गरी थप विशेषज्ञता हासिल गर्नुभयो।

चिकित्सा क्षेत्रमा अझ विशिष्ट ज्ञान र सीप हासिल गर्ने उद्देश्यले उहाँ सिङ्गापुर पुग्नुभयो र मेरुदण्ड शल्यचिकित्सामा फेलोसिप पूरा गर्नुभयो। जटिल शल्यक्रियाका अभ्यास, निरन्तर अध्ययन र बिरामीप्रतिको जिम्मेवारीले उहाँलाई मेरुदण्ड तथा हाडजोर्नी उपचारको क्षेत्रमा दक्ष चिकित्सकका रूपमा अघि बढायो।

चिकित्सक मात्रै होइन, अस्पताल व्यवस्थापनका अनुभवी नेतृत्वकर्ता

डा. पौडेलको योगदान शल्यचिकित्साको क्षेत्रमा मात्रै सीमित रहेन। उहाँले सरकारी अस्पतालको व्यवस्थापन, सेवा विस्तार र स्वास्थ्य संस्थाको नेतृत्वमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो।

पर्वत अस्पताल, बकुलहर रत्ननगर अस्पताल र भरतपुर अस्पताल गरी तीनवटा सरकारी अस्पतालमा एक दशकभन्दा लामो समय मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हाल्नुभएका उहाँले अस्पतालको सेवा सुधार, व्यवस्थापन र उपचार सेवा विस्तारका क्षेत्रमा काम गर्नुभयो।

भरतपुर अस्पतालमा नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्दा अस्पतालको सेवा विस्तार तथा नयाँ उपचार सेवा सञ्चालनका प्रयासमा उहाँ सक्रिय रहनुभयो। चिकित्सकीय अनुभवसँगै प्रशासनिक नेतृत्वको क्षमता पनि विकास गर्नुभएका उहाँ स्वास्थ्य संस्थाको व्यवस्थापनमा अनुभव प्राप्त चिकित्सकका रूपमा परिचित हुनुभयो।

चिकित्सकको हकहितदेखि स्वास्थ्य सेवाको सुधारसम्म

चिकित्सकीय सेवा र अस्पताल व्यवस्थापनसँगै डा. पौडेल चिकित्सकहरूको संगठनात्मक गतिविधिमा समेत सक्रिय रहनुभयो। नेपाल चिकित्सक सङ्घ चितवनको सचिव तथा अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएका उहाँ पछि सङ्घको केन्द्रीय सदस्यसमेत बन्नुभयो।

चिकित्सक तथा स्वास्थ्यकर्मीको हकहित, पेशागत सम्मान र स्वास्थ्य क्षेत्रका विषयमा संगठनात्मक भूमिका निर्वाह गर्दै उहाँले चिकित्सा क्षेत्रको सामूहिक हितका लागि समेत काम गर्नुभयो।

आर्थिक अभावले उपचार रोकिँदा सबैभन्दा बढी पीडा

डा. पौडेलको चिकित्सकीय जीवनमा बिरामीको पीडा बुझ्नु र उपचारमा मानवीय संवेदना कायम राख्नु महत्वपूर्ण पक्ष बनेको छ। उहाँका लागि जटिल शल्यक्रिया गर्नु मात्रै चिकित्सकीय जिम्मेवारी होइन, बिरामीको अवस्था, परिवारको पीडा र उपचारको पहुँचलाई बुझ्नु पनि उत्तिकै महत्वपूर्ण छ।

उहाँलाई सबैभन्दा गहिरो पीडा कुनै जटिल शल्यक्रियाको चुनौतीले भन्दा पनि उपचार सम्भव हुँदाहुँदै आर्थिक अभावका कारण बिरामीले उपचार गराउन नसकेको अवस्थाले दिने गर्छ। उपचारको आवश्यकता हुँदाहुँदै आर्थिक कठिनाइका कारण स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने बिरामीको अवस्थाले उहाँको मनलाई बढी संवेदनशील बनाउने गरेको छ।

पारिवारिक रूपमा धर्मपत्नी गीता शर्मा, दुई छोरी र एक छोरासहित जीवन अघि बढाइरहनुभएका डा. पौडेलको चिकित्सकीय तथा सामाजिक यात्रा निरन्तर जारी छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय