रत्ननगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटका लागि अघि बढाएको ‘क्यान्डिडेट क्लब’ प्रक्रियामा मिलन लामाले रत्ननगर नगरपालिकाको प्रमुख (मेयर) पदका लागि दाबी प्रस्तुत गर्नुभएको छ।
लामाले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा आफूले पुर्याएको योगदान, राजनीतिक सहकार्यबाट प्राप्त अनुभव र आफ्नो योग्यतालाई आधार बनाउँदै मेयर पदका लागि दाबेदारी प्रस्तुत गर्नुभएको हो।


उहाँले रत्ननगरको समग्र विकास, सुशासन र समृद्धिलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ। शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास र युवा सशक्तीकरणका क्षेत्रमा कार्ययोजनासहित नागरिकको सेवामा काम गर्ने उहाँको भनाइ छ।
“रत्ननगरको विकास केवल एउटा चुनावी नारा मात्र होइन, यो मेरो जीवनको सङ्कल्प र जिम्मेवारी हो,” लामाले आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ।
उहाँले रत्ननगरलाई सुशासित, समृद्ध र सबै नागरिकले अपनत्व महसुस गर्ने नगरका रूपमा विकास गर्ने लक्ष्यसमेत प्रस्तुत गर्नुभएको छ। “सबल नेतृत्व, स्पष्ट दृष्टिकोण र पारदर्शी शासन—हाम्रो रत्ननगर, हाम्रो गौरव” भन्ने नारासहित उहाँले आफ्नो राजनीतिक उद्देश्य सार्वजनिक गर्नुभएको हो।
रास्वपाको ‘क्यान्डिडेट क्लब’मा दाबी प्रस्तुत गर्नुभएका लामाको उम्मेदवारीबारे पार्टीले गर्ने निर्णय भने आउन बाँकी छ। उहाँको दाबेदारीले आगामी स्थानीय तह निर्वाचनमा रत्ननगर नगरपालिकाको प्रमुख पदका लागि रास्वपाको उम्मेदवार छनोट प्रक्रियामा थप चासो बढाएको छ।







