काठमाडौं, कात्तिक १०। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् भने चितवनको नेतृत्व कुशल मल्लले सम्हाल्नेछन्।


आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। जनकपुरको कप्तानी हर्मित सिंहले गर्नेछन् भने कर्णाली सोमपाल कामीको नेतृत्वमा मैदान उत्रनेछ।
प्रतियोगिताको पहिलो दिन हिजो भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो।
कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्। प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ।







