Spread the love

रत्ननगर, कार्तिक १० । चितवनको रत्ननगर नगरपालिका–१५ स्थित तीन सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले ल्यापटप र एसी हस्तान्तरण गरिएको छ। वडा कार्यालयले आर्थिक वर्ष २०८३/८४ मा विनियोजित बजेटबाट श्री माधवपुर माध्यमिक विद्यालय, श्री बिन्देश्वरी आधारभूत विद्यालय र श्री आधारभूत विद्यालय नमुना टोललाई एक/एक थान ल्यापटप हस्तान्तरण गरेको वडा अध्यक्ष आशिक तामाङले जानकारी दिनुभयो।

त्यसैगरी, माधवपुर माध्यमिक विद्यालयलाई १.५ टन क्षमताका दुई थान एसी र आधारभूत विद्यालय नमुना टोललाई एक थान एसी प्रदान गरिएको छ। बिन्देश्वरी आधारभूत विद्यालयमा भने यसअघि नै एक थान एसी हस्तान्तरण गरी जडानसमेत गरिसकिएको वडा अध्यक्ष तामाङले बताउनुभयो।

वडा अध्यक्ष तामाङका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउने र विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्ने व्यवस्था मिलाउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो।

सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्नु स्थानीय सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले विद्यालयमा आवश्यक शैक्षिक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न वडा कार्यालयले निरन्तर सहयोग गर्ने बताउनुभयो। वडा कार्यालयको यस पहलले विद्यालयमा प्रविधिको प्रयोग बढाउन, पठनपाठनलाई प्रभावकारी बनाउन र विद्यार्थीका लागि अनुकूल शैक्षिक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय