Spread the love

विकास पौडेल | जस्पाल न्युज, चितवन

चितवन । भोलि (कार्तिक १२ गते बिहीबार) देखि शनिबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सम्भावित बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मान्दै जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार अत्यन्त जरुरी सूचना जारी गरी नारायणी नदीलगायत अन्य नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।

कार्यालयले जारी गरेको सूचनाअनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी कार्तिक १२ गते बिहीबारदेखि कार्तिक १४ गते शनिबारसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। यसबाट बाढी, डुबान तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै प्रशासनले जिल्लावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले नारायणी नदी तथा अन्य नदीहरूको सतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई विशेष सतर्कता अपनाउन र आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेको छ।

त्यस्तै, नदीमा माछा मार्ने, पौडी खेल्ने, दाउरा सङ्कलन गर्ने लगायतका जोखिमपूर्ण गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ।

वर्षा तथा हावाहुरीका समयमा अनावश्यक यात्रा नगर्न र अत्यधिक वर्षाका कारण सडकखण्ड जोखिमपूर्ण हुन सक्ने भएकाले अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। विशेषगरी मुग्लिन–नारायणगढ सडकखण्ड तथा पृथ्वी राजमार्गमा यात्रा गर्दा थप सावधानी अपनाउन भनिएको छ।

धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई पनि प्रशासनले विशेष ध्यान दिन आग्रह गरेको छ। कार्तिक १२ गतेदेखि मौसम सामान्य नहुन्जेल धानबाली नकाट्न तथा काटिसकेको धानलाई सुरक्षित स्थानमा भण्डारण गर्ने व्यवस्था मिलाउन सूचनामार्फत अनुरोध गरिएको छ।

सम्भावित बाढी तथा विपद्सम्बन्धी जानकारी लिन वा आपत्कालीन अवस्थामा सहयोगका लागि जिल्ला प्रशासन कार्यालयले विभिन्न सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।

प्रशासनका अनुसार जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको हटलाइन १२३८, नेपाल प्रहरी हटलाइन १००, सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ तथा जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारीको सम्पर्क नम्बर ९८५५०९२२०० मा सम्पर्क गर्न सकिनेछ।

जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामार्फत सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सबैलाई पूर्वतयारी र सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय