रत्ननगर, चितवन । रत्ननगर नगरपालिका–५ टरौलीमा सञ्चालित निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरमा ४७ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। परीक्षणका क्रममा एक जनामा शंकास्पद अवस्था देखिएपछि थप परीक्षणका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर रिफर गरिएको छ।



रत्ननगर नगरपालिका वडा नम्बर ५ को कार्यालय र महिला स्वास्थ्य स्वयंसेविका समन्वय समिति रत्ननगरको आयोजनामा तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र नगर स्वास्थ्य केन्द्र टरौलीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
वडा अध्यक्ष एवं नगर स्वास्थ्य केन्द्र टरौली व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चापागाईंले अस्पतालसम्म पुगेर स्वास्थ्य परीक्षण गराउन कठिनाइ हुने महिलालाई लक्षित गरी गाउँमै सेवा उपलब्ध गराइएको बताए। यस्ता कार्यक्रमले महिलालाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न र सम्भावित रोगको समयमै पहिचान गर्न सहयोग पुग्ने उनको भनाइ छ।

नगर स्वास्थ्य केन्द्र टरौलीका प्रमुख गोविन्द शर्माले पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी बनाउन सकिने बताए। महिलाहरूले स्वास्थ्य समस्या देखिएपछि मात्र परीक्षण गराउनेभन्दा नियमित स्वास्थ्य जाँचमा ध्यान दिनुपर्ने उल्लेख गर्दै यस्ता शिविरले स्वास्थ्य परीक्षणप्रति सचेतना बढाउन र आवश्यक उपचारको प्रक्रिया अघि बढाउन सहयोग पुग्ने उनले बताए।
कार्यक्रममा नगर स्वास्थ्य केन्द्र टरौलीकी उपाध्यक्ष एवं रत्ननगर नगरपालिका वडा नम्बर ५ की वडा सदस्य निलु शर्मा खतिवडा, महिला स्वास्थ्य स्वयंसेविका रत्ननगरकी अध्यक्ष मिना गिरी र नगर स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।
पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरले स्थानीय महिलालाई सहज रूपमा स्वास्थ्य परीक्षण गराउने अवसर प्रदान गरेको केन्द्र प्रमुख शर्माले बताए ।







