सौराहा । पर्यटकीय नगरी सौराहामा आगामी मंसिर ३ गते आयोजना हुने नेपथ्य लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक नेपाल डायरिज र एबी इभेन्ट्सले आइतबार पत्रकार सम्मेलन गरी कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको र करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको जानकारी दिएको हो ।
‘नेपथ्यको धुन, सौराहाको शान : पर्यटन प्रवर्द्धन, हाम्रो अभियान’ भन्ने नारासहित सौराहास्थित सभा हलअगाडिको सिसुवार मैदानमा कन्सर्ट आयोजना हुँदैछ । सौराहामा पहिलोपटक हुन लागेको नेपथ्यको सांगीतिक कार्यक्रम सम्भवतः चितवनमा नै अन्तिम हुन सक्ने नेपाल डायरिजका निर्देशक बिनेश थापाले बताए ।


कन्सर्टमा चितवनसहित छिमेकी जिल्ला नवलपरासी (बर्दघाट सुस्तापूर्व र पश्चिम), तनहुँ, मकवानपुरलगायतका क्षेत्रबाट करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको थापाले बताए ।
रत्ननगर नगरपालिकाको संरक्षकत्वमा आयोजना हुन लागेको कन्सर्टले संगीत र पर्यटनलाई जोड्दै सौराहाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य राखेको एबी इभेन्ट्स नेपालका प्रबन्ध निर्देशक अंकित गौतमले बताए ।
सांगीतिक कार्यक्रममार्फत सौराहाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय पर्यटन व्यवसायलाई समेत चलायमान बनाउने आयोजकको विश्वास छ ।







