सौराहा । चितवनको सौराहामा नेपाल न्युरोसर्जन समाज (NESON) को १२औँ राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित विभिन्न देशका न्युरोसर्जन तथा विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको छ।
समाजका अध्यक्ष प्रा. डा. राजीव झाको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन वरिष्ठ न्युरोसर्जन प्रा. डा. पवनकुमार सुर्तानियाले गर्नुभएको हो। सम्मेलनमा नेपालका करिब १०० जना तथा अमेरिका, भारत, बेलायत, मलेसिया र रुसका १० जना न्युरोसर्जन सहभागी छन्।


उद्घाटन समारोहमा प्रा. डा. प्रकाश विष्टलाई सम्मान गरिएको थियो। सम्मेलनमा १०० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिने समाजका सहसचिव डा. सोमराज लामिछानेले जानकारी दिनुभयो।
सम्मेलनमा न्युरोसर्जरी क्षेत्रको ज्ञान, अनुसन्धान, आधुनिक प्रविधि तथा उपचार पद्धतिबारे विशेषज्ञहरूबीच अनुभव आदानप्रदान भइरहेको छ। ब्रेन ट्युमर, मस्तिष्कमा रक्तस्राव, मेरुदण्डसम्बन्धी रोग तथा चोटपटकको उपचार, दुर्घटनाका कारण हुने मस्तिष्कको चोटको व्यवस्थापन र आधुनिक सूक्ष्म शल्यचिकित्साका विषयमा छलफल भइरहेको डा. लामिछानेले बताउनुभयो।
त्यसैगरी, नेपाली तथा अन्तर्राष्ट्रिय चिकित्सकका अनुसन्धान, सफल उपचारका अनुभव र नयाँ अभ्यासबारे पनि कार्यपत्र प्रस्तुत गरिँदैछ। नयाँ पुस्ताका चिकित्सकलाई अनुसन्धान तथा व्यावसायिक सीप विकासमा प्रोत्साहन गर्ने विषयलाई समेत सम्मेलनले प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो।
समाजका सचिव डा. विनोदराज भण्डारीले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र र विशेषज्ञबीचको छलफलले नेपालमा न्युरोसर्जरी सेवाको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
सम्मेलनले जटिल मस्तिष्क तथा मेरुदण्डका रोगको उपचारमा नवीन ज्ञान र प्रविधि भित्र्याउन, नेपाली चिकित्सक र अन्तर्राष्ट्रिय विशेषज्ञबीच सहकार्य विस्तार गर्न तथा युवा चिकित्सक र अनुसन्धानकर्तालाई प्रोत्साहन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ। तीन दिनसम्म चल्ने सम्मेलन आइतबार सम्पन्न हुनेछ।







