२९ बैशाख २०८३, मंगलवार ०८:०८
म्याग्दी । म्याग्दीको महभिर क्षेत्रमा खसेको पहिरो पन्छाएपछि बेनी–जोमसोम–कोरला सडक पुनः सञ्चालनमा आएको छ ।
आज बिहान ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्दा अवरुद्ध बनेको सडक सडक विभागको उपकरण प्रयोग गरी खुलाइएको हो । सडक सञ्चालनमा आएसँगै बीचबाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढ्न थालेका छन् ।


सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा जाने पर्यटक तथा मुक्तिनाथ मन्दिर दर्शनका लागि यात्रा गरिरहेका तीर्थयात्री प्रभावित भएका थिए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सीनाका अनुसार पहिरो पन्छाएर एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ ।
महभिर क्षेत्रमा सामान्य वर्षा हुँदा पनि माथिबाट लेदोसहित पहिरो झर्ने समस्या दोहोरिने भएकाले यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।




प्रतिकृया दिनुहोस्