गोरखा, असोज २५ । गोरखाको चुमनुब्री गाउँपालिका–६ मा आकस्मिक बाढी आएको छ। चुम्केको खोलामा पहिरो खसेर थुनिएपछि बाढी आएको आशंका गरिएको छ।
प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रका अनुसार आज बिहान ४ः३५ बजे बाढी आएको खबर प्राप्त भएको हो। हालसम्म मानवीय क्षति भएको जानकारी प्राप्त नभएको उनले बताएका छन्।


बाढीको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको छ। बाढीका कारण तल्लो तटीय क्षेत्रका सल्लेरी र जगत बजार जोखिममा परेका छन् भने केही स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सरेका छन्।
बाढी पूर्वानुमान महाशाखाले समेत आकस्मिक बाढीको जोखिमबारे एसएमएसमार्फत सूचना पठाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।







