बाँके । भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको अवस्था पत्ता नलाग्दा बाँकेका पीडित परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खँदै बिताएका छन्। बाढी गएको दुई महिना पुग्दा पनि आफन्तको सास वा लास केही फेला नपरेपछि परिवारजन शोक र अन्योलमा छन्।
नेपालगञ्ज उपमहानगरपालिका–२०, थपुवाका अनलाल रोकायका दाजु शेरसिंह रोकाय, भाउजु विष्णुमती रोकाय र १९ वर्षीय भतिज दीपक रोकाय भोटेकोशी बाढीमा बेपत्ता भएका थिए। रसुवाको टिमुरे क्षेत्रमा कार्यरत दाजु–भाउजुलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका दीपकसहित तीनै जनाको अवस्था अझै अज्ञात छ।


बेपत्ता आफन्तको शव पहिचान हुन सक्ने आशामा डीएनए परीक्षणका लागि नमुना दिएका अनलाल रिपोर्ट नआउँदा सामाजिक संस्कार गर्नसमेत अन्योलमा छन्। उनले सरकारले डीएनए रिपोर्ट र बेपत्ता व्यक्तिको अवस्थाबारे परिवारलाई आधिकारिक जानकारी दिनुपर्ने माग गरेका छन्।
बाढीमा रोजगारीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि बेपत्ता छन्। उनीहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा छन्। डीएनए रिपोर्टको प्रतीक्षामा रहेका बालबालिकाको पालनपोषण र शिक्षाका लागि आवश्यक सहयोग तथा समन्वय भइरहेको नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा १६ जना आफन्तको डीएनए नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। अन्य आफन्तको चितवन र काठमाडौंस्थित अस्पतालमा नमुना सङ्कलन गरिएको छ। परीक्षणका लागि बेपत्ता व्यक्तिका नजिकका नातेदारको रगतको नमुना लिइएको प्रहरीले जनाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार भोटेकोशी बाढीपछि जिल्लाका २३ जना अझै बेपत्ता छन्। तीन जनाको शव पहिचान भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।
आफन्तको अवस्थाबारे आधिकारिक जानकारी नपाउँदा पीडित परिवारको पीडा थपिएको छ। उनीहरू अहिले बेपत्ता आफन्तको खोजी र डीएनए परीक्षणको नतिजाको प्रतीक्षामा छन्।







