Spread the love

चितवन, कात्तिक २८ । जापानमा व्यावसायिक सवारी चालकको बढ्दो मागलाई लक्षित गर्दै नेपाली चालकहरूका लागि रोजगारीको नयाँ अवसर सिर्जना गर्ने पहल थालिएको छ। जापानमा मासिक २ लाख ५० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउन सकिने अवसरलाई लक्षित गरी लाइफलाइन ओभरसिज (CHITWAN) प्रा.लि. र भिक्ट्री निहोन एजुकेशनल कन्सल्टेन्सीले पहिलो चरणमा ८०० जना नेपाली चालकलाई निःशुल्क जापानी भाषा तथा ड्राइभिङ तालिम प्रदान गर्ने तयारी गरेका छन्।

नेपालमै ट्रक, बस तथा ट्याक्सी चलाइरहेका चालकका साथै कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेतलगायत खाडी मुलुकमा लामो समयदेखि सवारी चालकका रूपमा कार्यरत अनुभवी नेपालीलाई कार्यक्रममा प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

कम्पनीका अध्यक्ष सन्देश अर्याल हालै जापानका विभिन्न सहरमा रहेका यातायात कम्पनी तथा स्थानीय, महानगर र प्रिफेक्चर तहका सरकारी प्रतिनिधिसँग भेटघाट गरी नेपाल फर्किएका छन्। उनका अनुसार जापानका यातायात कम्पनीहरूमा दक्ष चालकको माग बढ्दै गएको छ भने नेपाली चालकलाई रोजगारीमा आबद्ध गराउन त्यहाँका रोजगारदाता इच्छुक देखिएका छन्।

अर्यालले नेपाली चालकसँग पर्याप्त सीप र अनुभव रहेकाले आवश्यक जापानी भाषा तथा ड्राइभिङसम्बन्धी तालिम प्रदान गरी उनीहरूलाई जापानमा रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्य रहेको बताए।

कम्पनीका अनुसार जापानमा रोजगार सम्झौताअनुसार काम गर्ने चालकले मासिक नेपाली रुपैयाँ २ लाख ५० हजारभन्दा बढी बराबरको तलब प्राप्त गर्न सक्नेछन्। यसका अतिरिक्त बोनस, ओभरटाइम, सामाजिक सुरक्षा तथा अन्य सुविधा पनि उपलब्ध हुन सक्ने जनाइएको छ।

त्यस्तै, जापान जाने हवाई टिकट र जापानी ड्राइभिङ लाइसेन्स प्राप्त गर्ने तयारी तथा प्रक्रियामा लाग्ने करिब ११ लाख रुपैयाँसम्मको खर्च जापानी रोजगारदाता कम्पनीबाट व्यहोर्ने व्यवस्थाका लागि सहकार्य भइरहेको कम्पनीको भनाइ छ। यद्यपि, यी सुविधा सम्बन्धित रोजगारदाता कम्पनीसँग हुने अन्तिम सम्झौता र कानुनी प्रक्रियामा निर्भर रहनेछन्।

नेपाल र जापान दुवै देशमा सडकको बायाँतर्फबाट सवारी सञ्चालन हुने भएकाले नेपाली चालकलाई जापानको सडक प्रणालीसँग घुलमिल हुन केही सहज हुने अपेक्षा गरिएको छ। तर जापानमा व्यावसायिक चालकका रूपमा काम गर्न जापानी भाषा, आवश्यक सीप परीक्षा, ट्राफिक नियम तथा ड्राइभिङ लाइसेन्ससम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।

कम्पनीले यसअघि पनि आफ्नो पहलमार्फत जापान पुगेका नेपाली ट्रक चालकहरू कार्यरत रहेको जनाउँदै उक्त अनुभवका आधारमा थप नेपाली चालकलाई जापान पठाउने तयारी गरिएको जनाएको छ।

पहिलो चरणमा ८०० जना चालकलाई निःशुल्क जापानी भाषा र ड्राइभिङ तालिम दिने योजनाअनुसार चितवन, पोखरा र काठमाडौंमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। तालिमपछि आवश्यक योग्यता तथा मापदण्ड पूरा गर्ने चालकलाई जापानका रोजगारदाता कम्पनीसँग जोड्ने लक्ष्य राखिएको छ।

कम्पनीले नेपाल तथा खाडी मुलुकमा कार्यरत इच्छुक र अनुभवी चालकलाई आफ्नो ड्राइभिङ लाइसेन्स तथा कार्यअनुभवसम्बन्धी विवरणसहित लाइफलाइन ओभरसिज (CHITWAN) प्रा.लि. वा भिक्ट्री निहोन एजुकेशनल कन्सल्टेन्सीमा सम्पर्क गरी प्रारम्भिक छनोट र तालिमबारे जानकारी लिन आग्रह गरेको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार निःशुल्क तालिममा छनोट हुनु मात्रै जापानमा रोजगारी सुनिश्चित हुनु होइन। तलब, हवाई टिकट, लाइसेन्स प्रक्रियाको खर्च तथा अन्य सुविधा सम्बन्धित रोजगारदातासँगको अन्तिम सम्झौता र प्रचलित कानुनी व्यवस्थाअनुसार तय हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय