रत्ननगर । सामाजिक उद्यमी महिला सहकारीहरूले उत्पादन गरेका कृषि तथा घरेलु सामग्रीको प्रवर्द्धन र बजारीकरणका लागि प्रदेश सरकारसमक्ष मागपत्र पेश गरिएको छ। सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) ले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेश स्तरीय समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा महिला उद्यमशीलता, कृषि उत्पादन र बजार व्यवस्थापनलाई केन्द्रमा राख्दै विभिन्न माग अघि सारिएको हो।
सेवा नेपालले महिला तथा सामाजिक उद्यमी सहकारीका उत्पादन बजारसम्म सहज रूपमा पुर्याउन ढुवानी साधनमा अनुदान उपलब्ध गराउन, हाटबजार सञ्चालनमा महिला उद्यमीलाई प्राथमिकता दिन, केन्द्रीय संघ स्थापना तथा दर्तामा समन्वय गर्न र सेवा नेपालको कोशेलीघर प्रवर्द्धनका लागि कार्यक्रम तथा अनुदान व्यवस्था गर्न माग गरेको छ।
मागपत्रमा कृषि, उद्योग तथा सहकारी मन्त्रालय र मातहतका कार्यालयमार्फत महिला सहकारी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, सहकारी व्यवस्थापन, लेखा व्यवस्थापन, नीति–नियमसम्बन्धी अभिमुखीकरण र उद्योग विकाससम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने विषय पनि समेटिएको छ।
कार्यक्रममा सेवा नेपालकी अध्यक्ष टीकाकुमारी अधिकारीले बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलसमक्ष मागपत्र हस्तान्तरण गरेकी थिइन्। मन्त्री पौडेलले सेवा नेपालले उठाएका विषय नीति तथा कार्यक्रममा समेटिएको उल्लेख गर्दै सहकारी क्षेत्रका समस्या समाधानमा प्रदेश सरकार गम्भीर रहेको बताइन्।
सेवा नेपालकी संस्थापक अध्यक्ष पार्वती न्यौपानेका अनुसार कार्यक्रममा सामाजिक उद्यमी महिला सहकारीहरूले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन, बजारीकरण, समस्या, चुनौती र समाधानका विषयमा विस्तृत छलफल गरिएको थियो।
हाल सेवा नेपाल देशभरका करिब २३० सामाजिक उद्यमी महिला सहकारीहरूको छाता संगठनका रूपमा सक्रिय छ। संस्थाकी सचिव शैलजा घिमिरे पौडेलका अनुसार बागमती प्रदेशमा मात्रै ५६ वटा सामाजिक उद्यमी महिला सहकारी आबद्ध छन्। ती सहकारीमार्फत डेरी, खसीबोका, मसला तथा अन्य कृषि उद्यम सञ्चालन हुँदै आएका छन्। करिब ५० हजार महिला सदस्य आबद्ध रहेको र तीन सयभन्दा बढीले रोजगारी पाएको जानकारी दिइएको छ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्षद्वय खेमबहादुर थापा र डिबी बस्नेतले महिला सहकारीहरूले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै समाजमा नेतृत्वदायी भूमिकामा पुर्याएको बताए। हेफर इन्टरनेशनल नेपालकी कार्यक्रम निर्देशक सविना प्रधानले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमा सहकारी अभियान प्रभावकारी बनेको बताइन्।
सेवा नेपालकी अध्यक्ष अधिकारीले आगामी दिनमा १५ लाख सदस्यसहित एक हजार सामाजिक उद्यमी महिला सहकारीलाई सञ्जालमा आबद्ध गराउने लक्ष्य रहेको बताइन्। उनले रत्ननगरमा महिला सहकारीका उत्पादन बजारीकरणका लागि कोशेलीघर स्थापना गरिसकिएको जानकारी पनि दिइन्।
कार्यक्रममा प्रदेश संयोजक प्रमिला पण्डितले संस्थाको गतिविधिबारे प्रस्तुतीकरण गरेकी थिइन् भने शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष निर्मला दंगालले प्रगति विवरण प्रस्तुत गरेकी थिइन्। संस्थापक सचिव कल्पना रिमालको स्वागत मन्तव्य रहेको कार्यक्रम सेवा नेपालकी सचिव शैलजा घिमिरे पौडेलले सञ्चालन गरेकी थिइन्। राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईंले कार्यक्रमको सहजीकरण गरेका थिए।















प्रतिकृया दिनुहोस्