चितवन, रत्ननगर। रत्ननगर नगरपालिका वडा नं. ९ को आयोजनामा तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकास सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजना तथा आरोन एजुकेशनको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै वडा सदस्य सुस्मा खड्काथोकिले पछिल्लो समय मानिसहरू दैनिक जीवनशैली, पारिवारिक दायित्व तथा सामाजिक दबाबको उचित व्यवस्थापन गर्न नसक्दा मानसिक तनावका समस्या बढ्दै गएको बताइन्। यस्ता समस्याप्रति समुदायलाई सचेत बनाउन र सकारात्मक सोचको विकास गर्न वडा कार्यालयले कार्यक्रम आयोजना गरेको उनले जानकारी दिइन्।
कार्यक्रमका प्रमुख अतिथि तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले मानिसका चाहना र अपेक्षा निरन्तर बढ्दै जाने तर ती सबै पूरा नहुन सक्ने भएकाले जीवनमा आउने चुनौती र घटनाहरूलाई सही ढंगले व्यवस्थापन गर्न आवश्यक रहेको बताए। उनले जीवनमा देखिएका समस्यालाई बोझका रूपमा नभई अवसरका रूपमा लिन सके व्यक्तित्व विकास र सफलताको मार्ग खुल्ने धारणा राखे।
उनले विगतका नकारात्मक घटनालाई सम्झेर चिन्तित हुनु वा भविष्यप्रति अत्यधिक डर र त्रास पाल्नु तनावको प्रमुख कारण बन्ने उल्लेख गर्दै वर्तमानमा केन्द्रित भएर सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए। मानिसले आफ्नो मन, भावना र व्यवहारलाई सन्तुलित राख्न सके तनाव व्यवस्थापन सहज हुने उनको भनाइ थियो। समयअनुसार आफूलाई परिवर्तन गर्न नसक्दा पनि तनाव बढ्ने भएकाले आत्मविश्वास र सकारात्मक सोचको विकास आवश्यक रहेको उनले बताए।
प्रशिक्षणका क्रममा प्रशिक्षक कुसुम तिवारीले तनावका कारण, त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने प्रभाव तथा सकारात्मक सोच, आत्मनियन्त्रण र व्यवहारिक अभ्यासमार्फत तनाव व्यवस्थापन गर्ने उपायबारे सहजीकरण गरेकी थिइन्।
कार्यक्रममा वडा सदस्य कमानसिंह चौधरी, वडा मेलमिलापकर्ता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, आमा समूहका सदस्य, स्वास्थ्य स्वयंसेविका, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
यस अवसरमा वडा अध्यक्ष अनन्त अधिकारीले समुदायमा मानसिक स्वास्थ्य, सकारात्मक सोच र व्यक्तित्व विकासका विषयलाई प्राथमिकतामा राखेर यस्ता जनचेतनामूलक कार्यक्रमहरू आगामी आर्थिक वर्षमा समेत निरन्तर सञ्चालन गरिने बताए। उनले समुदायको समग्र विकासका लागि भौतिक पूर्वाधारसँगै मानवीय विकास र मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रमका सञ्चालक तथा वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले वडा कार्यालयले समुदायको आवश्यकता पहिचान गरी समयानुकूल र व्यवहारिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले यस्ता प्रशिक्षणले सहभागीहरूलाई दैनिक जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न, तनाव व्यवस्थापन गर्न तथा सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।















प्रतिकृया दिनुहोस्