चितवन, खैरहनी। खैरहनी नगरपालिका–३ का महिलाहरूका लागि वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ। नेपाल दलित महिला उत्थान संघ (एड्वान) को आयोजना, करुणा ट्रष्टको प्राविधिक सहयोग तथा खैरहनी नगरपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो।
कार्यक्रममा एड्वानकी उपाध्यक्ष तीर्थकुमारी विकले स्वागत मन्तव्य व्यक्त गर्दै महिलाहरूलाई व्यवसाय तथा उद्यमशीलतामा जोडेर आत्मनिर्भर बनाउन यस्ता तालिम प्रभावकारी हुने बताइन्।
समापन कार्यक्रममा एड्वानकी अध्यक्ष विन्दु थापा परियारले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतासम्बन्धी तालिम आवश्यक रहेको बताइन्। उनले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्न सके मात्र वास्तविक परिवर्तन सम्भव हुने उल्लेख गरिन्।
उनले भनिन्, “महिलाहरू आर्थिक रूपमा सक्षम भए परिवार र समाज दुवै सशक्त बन्छन्। सिकेका कुरा व्यवहारमा उतारेर आत्मनिर्भर बन्नु आजको आवश्यकता हो।”
खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले आम्दानीअनुसार खर्च गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिइन्। महिलाहरू आत्मनिर्भर बनेपछि अरूमाथि निर्भर रहनु नपर्ने उल्लेख गर्दै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरी जीवनमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गरिन्।
उनले भनिन्, “आर्थिक अनुशासन र सीपको सही प्रयोगले महिलाहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन सक्छ।”
वडा नं. ३ का अध्यक्ष पुणबहादुर गुरुङले वडावासीको आवश्यकता र मागका आधारमा आगामी दिनमा बजेट तथा कार्यक्रम व्यवस्थापन गरिने बताए। महिलाहरूको क्षमता विकास, सीप अभिवृद्धि तथा आयआर्जनका अवसर विस्तारका लागि वडा कार्यालय सदैव सकारात्मक रहेको उनको भनाइ थियो।
तालिमका प्रशिक्षक केसर आउजीले आवश्यकता अनुसार खर्च गर्ने बानी विकास गर्नुपर्ने तथा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।
सहभागी आदर्श महिला समूहकी वविता तिवारी र गीता ढकालले आम्दानी–खर्च व्यवस्थापन, आयका स्रोत वृद्धि तथा अनावश्यक खर्च न्यूनीकरणसम्बन्धी महत्वपूर्ण ज्ञान हासिल भएको प्रतिक्रिया दिइन्
त्यसैगरी बुद्धशान्ति महिला समूहकी रेजिना मोक्तान, सुस्मा राना र दिलकुमारी घिसिङले आम्दानी, खर्च र बचतको सन्तुलनलाई ध्यानमा राखी लगानी गर्नुपर्ने विषयमा स्पष्ट जानकारी प्राप्त भएको बताइन्। उनीहरूले नगर तथा वडा स्तरबाट थप सीपमूलक तालिमको व्यवस्था भए महिलाहरू अझ आत्मनिर्भर बन्न सक्ने धारणा व्यक्त गरे।
कार्यक्रममा वडा सदस्यहरू प्रज्वला कुमारी घिमिरे, माधव श्रेष्ठ, कृष्णबन्धु भुत्र्याल र विष्णुमाया विकलगायतको उपस्थिति रहेको थियो। तालिममा सहभागी महिलाहरूले आर्थिक व्यवस्थापन, बचत, लगानी तथा उद्यमशीलता विकाससम्बन्धी विविध विषयमा ज्ञान हासिल गरेका थिए।















प्रतिकृया दिनुहोस्