चितवन, असोज १५ । रत्ननगरस्थित बागमती प्रदेशस्तरीय रत्ननगर बकुलहर अस्पतालमा हिस्टोप्याथोलोजी ल्याब सञ्चालनमा आएको छ । ल्याब सञ्चालनसँगै अब अस्पतालमै शल्यक्रियापछि गरिने बायोप्सी परीक्षण तथा रिपोर्टिङ हुने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले संयुक्त रूपमा हिस्टोप्याथोलोजी ल्याबको उद्घाटन गरेका हुन् ।


मुख्यमन्त्री थापाले अस्पतालमै बायोप्सी परीक्षण र रिपोर्टिङ सुरु भएपछि बिरामीले परीक्षणका लागि काठमाडौं वा भरतपुर धाउनुपर्ने बाध्यता हटेको बताए । स्वास्थ्य मन्त्री तामाङले दैनिक १ हजार २ सयभन्दा बढी बिरामीले ओपीडी सेवा लिने अस्पतालमा हिस्टोप्याथोलोजी सेवा थपिनु महत्वपूर्ण उपलब्धि भएको बताए ।
अस्पतालका कन्सल्ट्यान्ट प्याथोलोजिष्ट डा. रमेश पौडेलका अनुसार हिस्टोप्याथोलोजी परीक्षणबाट मासुको डल्लामा क्यान्सर भए/नभएको पहिचान गर्न सकिन्छ । उनका अनुसार अस्पतालमा गुणस्तरीय उपकरण र आवश्यक जनशक्तिसहित ल्याब सञ्चालनमा ल्याइएको छ ।
अस्पतालका ल्याब टेक्नोलोजी नीरिक्षक सुरज अधिकारीले यसअघि शल्यक्रियापछि निकालिएको मासुको डल्ला परीक्षणका लागि अन्यत्र लैजानुपर्ने बाध्यता रहेकोमा अब अन्त्य भएको बताए । उनका अनुसार बायोप्सी परीक्षण स्वास्थ्य बिमाअन्तर्गत पर्ने भएकाले बिरामीलाई आर्थिक भारसमेत कम हुनेछ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले आफ्नै अस्पतालमा बायोप्सी सेवा सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । उनले अस्पतालमा सिटी स्क्यान मेसिन उपलब्ध गराउन प्रदेश सरकारसँग माग गर्दै निर्माणाधीन मातृ तथा शिशु भवनलाई समेत शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गरे ।
अस्पतालका निमित्त निर्देशक डा. अंकुर पौडेलले जनशक्ति र भौतिक संरचनाको अभावका बाबजुद अस्पतालले सेवा विस्तार गर्दै आएको बताए । कार्यक्रममा बागमती प्रदेशका सांसद, स्वास्थ्य कार्यालय तथा प्रयोगशालाका अधिकारी, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो।






