काठमाडौँ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल हिमाली तथा पहाडी भूभागमा आंशिक बदली छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्नेछ।


मधेससहित कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने महाशाखाले जनाएको छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने पूर्वानुमान छ।






