रत्ननगर । रत्ननगर नगरपालिका–३ शान्तिचोकमा शान्तिज्योति युवा समाजको आयोजनामा नवदुर्गा पूजा समारोह हुने भएको छ।
वडादसैंको अवसरमा असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म पूजा समारोह आयोजना गर्न लागिएको हो। समारोहको तयारीबारे आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।


धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै स्थानीयवासीबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले समारोह आयोजना गरिएको समाजका अध्यक्ष अशोक भूसालले बताए।
समारोहमा नवदुर्गाको विधिवत् पूजा–आराधना, धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। पूजा समारोहमा स्थानीयवासी, भक्तजन तथा श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासीलाई कार्यक्रममा सहभागी भई समारोह सफल बनाउन आग्रह गरेको छ।
वडाध्यक्ष सोहेन्द्रराज खरेलको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा वडा सदस्य शिव खनाल, निवर्तमान वडा सदस्य मीना गिरी, भक्ति भजन नेपालका अध्यक्ष गोविन्द पौडेल, रामेश्वर मन्दिरका अध्यक्ष हिमालयप्रसाद खनाल, ज्येष्ठ नागरिक नगर समन्वय समितिका अध्यक्ष छविलाल घिमिरेलगायतको उपस्थिति थियो।






