रत्ननगर । चितवनको रत्ननगरस्थित टिकौलीचौरमा शनिबारदेखि राष्ट्रियस्तरको प्रथम पञ्चकन्या गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ।
रत्ननगर नगरपालिका–१२ स्थित न्यू पञ्चदिप युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले गरेका हुन्।


प्रतियोगिताको उद्घाटन खेलमा एन्फा मकवानपुरले आयोजक पञ्चदिप युवा क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। खेलमा एन्फा मकवानपुरका समीर सुनार म्यान अफ द म्याच घोषित भए। उनलाई रत्ननगर–१५ का वडाध्यक्ष आशिक तामाङ र रत्नप्रिय क्लबका अध्यक्ष वसन्त रानाले नगदसहित ट्रफी प्रदान गरे।
प्रतियोगितामा आयोजक पञ्चदिप युवा क्लब, अभिषेक चर्च रजहर, एन्फा मकवानपुर, वीरगञ्ज युनाइटेड, देवदह ब्वाइज रुपन्देही, लास्सो कन्सल्टेन्सी, सूर्यपुर फुटबल क्लब र गैँडाकोट फुटबल क्लबको सहभागिता रहेको क्लबका अध्यक्ष किरण थिङले जानकारी दिए।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक दिनेश रानामगरले बताए। उनका अनुसार प्रत्येक खेलमा म्यान अफ द म्याचसहित उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगितामा राष्ट्रियस्तरका चर्चित खेलाडीहरूको सहभागिता रहने भएकाले रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष थिङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर–१५ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शंकर गिरी, एन्फा चितवनका अध्यक्ष श्रीकृष्ण कार्कीलगायतले मन्तव्य राखेका थिए।






