काठमाडौं । देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव सक्रिय रहँदा विभिन्न प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र र दक्षिणतर्फ फैलिएको न्यून चापीय रेखाको प्रभावका कारण मौसम बदली भएको हो।
हाल सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहेको छ भने कोशी र कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ। तराई र पहाडी भूभागमा पनि आंशिक बदली देखिएको छ। सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।


आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ। ती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। मौसमविद्ले चट्याङ्गसहितको वर्षा हुने क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।




प्रतिकृया दिनुहोस्