रत्ननगर । झुवानी सामुदायिक पुस्तकालयद्वारा सञ्चालित टेक एज गर्ल्स (TAG) परियोजना अन्तर्गत किशोरीहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको १५ महिने तालिम आजदेखि सुरु भएको छ। तालिम READ Nepal को सहयोगमा सञ्चालन गरिएको हो।

झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्यालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिका–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि चापागाईंले वर्तमान समयको आवश्यकता अनुसार छोरीहरूलाई शिक्षा–दीक्षासँगै प्रविधिसम्बन्धी ज्ञान र सीप प्रदान गर्नुपर्ने बताउनुभयो। उहाँले १२ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले लैङ्गिक विभेदका आधारमा हुने विभिन्न हिंसा तथा विभेदबाट जोगिन, आत्मविश्वास अभिवृद्धि गर्न र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
परियोजना संयोजक हिरा अधिकारीले तालिममा ३० जना किशोरी सहभागी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार १५ महिनासम्म सञ्चालन हुने कार्यक्रम तीन चरणमा विभाजन गरिएको छ। पहिलो चरणमा आधारभूत तालिम, दोस्रो चरणमा उन्नत (एड्भान्स) तालिम तथा अन्तिम चरणमा बाह्य तथा विशेष तालिम सञ्चालन गरिनेछ।
नेतृत्व तथा क्षमता विकाससम्बन्धी विषयमा बोल्दै हिरा आलेले कार्यक्रमले किशोरीहरूको नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा जीवनोपयोगी सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। तालिममा जीवनोपयोगी सीप, लैङ्गिक समानता, व्यवहारिक कम्प्युटर शिक्षा, ग्राफिक्स डिजाइन, डिजिटल साक्षरता तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगलगायतका विषय समेटिएका छन्।
सहभागीहरूलाई समूहमा विभाजन गरी व्यवहारिक र सहभागितामूलक सिकाइ प्रक्रिया अपनाइने जनाइएको छ।
कार्यक्रममा अभिभावकका तर्फबाट इन्द्रप्रसाद रिमालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी चित्रसारी माध्यमिक विद्यालयका तर्फबाट शिक्षिका शारदा शर्मा तथा झुवानी माध्यमिक विद्यालयका तर्फबाट सीता थनेतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
सहभागीहरूको तर्फबाट चित्रसारी माविकी ईशाना चौधरी र झुवानी माविकी सोनी महतोले तालिमले आफूहरूलाई प्रविधिसम्बन्धी ज्ञान र सीप हासिल गर्न तथा भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा दीपाञ्जली न्यौपाने र प्रिन्स महतले आफ्नो अनुभव आदानप्रदान गरेका थिए। TAG परियोजनाबारे जानकारी संयोजक ज्योति आलेले गराउनुभएको थियो भने स्वागत मन्तव्य TAG उपसमिति संयोजक हिराकुमारी अर्यालले राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन पुस्तकालय कार्यसमिति सदस्य श्रीराम चौधरीले गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले READ Nepal को सहयोगमा सञ्चालन भएको यस परियोजनाले किशोरीहरूलाई प्रविधिसँग जोड्दै उनीहरूको ज्ञान, सीप, नेतृत्व क्षमता तथा आत्मविश्वास विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।















प्रतिकृया दिनुहोस्