काठमाडौँ । नेपालमा हाल पश्चिमी, स्थानीय तथा मनसुनी वायुको मिश्रित प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुनी वायु सक्रिय रहँदा देशका अन्य अधिकांश भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ।
महाशाखाले जारी गरेको पछिल्लो मौसम बुलेटिनअनुसार अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ। मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ भने लुम्बिनी र कर्णाली प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। यतिबेला कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
सोमबार दिउँसो र रातिको मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसले पर्वतीय तथा हिमाली क्षेत्रमा यात्रा गर्ने र पर्वतारोहण गतिविधिमा संलग्नहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
यता तराई क्षेत्रमा भने गर्मीको प्रभाव अझै कायम रहने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर (लु) चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि अत्यधिक गर्मीका कारण तातो दिनको अवस्था रहने अनुमान गरिएको छ।
मौसमविद्हरूले चट्याङ, वर्षा तथा अत्यधिक गर्मीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। कृषि, सडक तथा हवाई यातायातका क्षेत्रमा समेत मौसमको प्रभाव पर्न सक्ने भएकाले सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन सुझाव दिइएको छ।















प्रतिकृया दिनुहोस्