भरतपुर, वैशाख २९ । चितवनको नारायणी नमुना माध्यमिक विद्यालय ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फेरि उत्कृष्ट नतिजा हासिल गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको एसईई नतिजाअनुसार विद्यालयका ३७ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन्। विद्यालयबाट ३८० जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३७ जनाले पूर्ण ४ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले जानकारी दिनुभयो। गत वर्ष भने विद्यालयबाट ७ जनाले मात्रै ४ जिपिए ल्याएका थिए।


प्रधानाध्यापक दुवाडीका अनुसार एक जना विद्यार्थी मात्रै ननग्रेडमा परेका छन्। ती विद्यार्थीको सामाजिक विषयमा ननग्रेड आएको बताइएको छ।
विद्यालयको नतिजाअनुसार २१६ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए प्राप्त गरेका छन् भने १०२ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्। त्यसैगरी २१ जनाले २.८ देखि ३.२ जिपिए तथा ३ जनाले २.४ देखि २.८ जिपिए हासिल गरेका छन्। विद्यालय प्रशासनले यस वर्षको नतिजाले विद्यार्थी, शिक्षक र अभिभावक सबैमा थप उत्साह थपिएको जनाएको छ।




प्रतिकृया दिनुहोस्