चितवन : कालिका नगरपालिकालाई पर्यटन तथा चलचित्र उद्योगको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने अभियानलाई तीव्रता दिइएको छ। नगर प्रमुख विनोद रेग्मीले पर्यटन पूर्वाधार विस्तारसँगै कालिकाका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले फिल्म नगरीको अवधारणा अघि बढाइएको बताउनुभयो।
यसै सन्दर्भमा नेपालका चर्चित अभिनेता विराट भट्ट र लक्ष्मण थापासँग नगरपालिकामा विशेष छलफल गरिएको छ। छलफलमा चलचित्र छायांकन, पर्यटन प्रवर्द्धन तथा लगानीका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो।
भेटका क्रममा अभिनेता विराट भट्टले कालिकामा चलचित्र छायांकनका लागि अत्यन्त उपयुक्त प्राकृतिक दृश्य, पहाडी भूभाग र विविध भौगोलिक संरचना रहेको बताउनुभयो। “कालिकामा चलचित्रका लागि आवश्यक प्राकृतिक सौन्दर्य र लोकेसन प्रशस्त छन्। स्थानीय सरकारको सहयोग र स्पष्ट नीति भए यहाँ राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरका चलचित्र पनि छायांकन गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
त्यस्तै आईएमी हस्पिटालिटी ग्रुप ईला होटलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले पर्यटन पूर्वाधारमा लगानी बढाउन सके कालिकाले चितवनको नयाँ पर्यटन केन्द्रका रूपमा पहिचान बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो। “पर्यटन र आतिथ्य क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सकियो भने कालिकामा ठूलो आर्थिक सम्भावना छ। निजी क्षेत्र पनि यस्ता योजनामा सहकार्य गर्न तयार छ,” उहाँले बताउनुभयो।
नगर प्रमुख रेग्मीले आगामी आर्थिक वर्षको बजेटमार्फत केबलकार, रिसोर्ट निर्माण तथा चलचित्र छायांकनलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम र प्याकेज सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार पर्यटन र चलचित्र उद्योगको संयोजनमार्फत कालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा थप सशक्त बनाउने लक्ष्य लिइएको छ।















प्रतिकृया दिनुहोस्