रत्ननगर, असार ३। रत्ननगर नगरपालिका–५ स्थित नगर स्वास्थ्य केन्द्र टरौलीले २५ जना गर्भवती र ४५ जना सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरेको छ। बुधबार आयोजित कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले पोषण सामग्री वितरण गरिएको हो।
वडा नं. ५ का अध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चापागाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वास्थ्य केन्द्रकी उपाध्यक्ष एवं वडा सदस्य निलु शर्मा खतिवडाले स्वागत मन्तव्य राख्नुभएको थियो भने स्वास्थ्य केन्द्र प्रमुख गोविन्द शर्माले कार्यक्रम सञ्चालन तथा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले स्वस्थ आमा र स्वस्थ शिशु निर्माणका लागि पोषण अपरिहार्य रहेको बताउँदै यस्ता कार्यक्रमले समुदायको स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उपाध्यक्ष खतिवडाले मातृ स्वास्थ्यमा गरिएको लगानी नै स्वस्थ समाज निर्माणको आधार भएको उल्लेख गर्दै पोषणमा परिवार र समुदायको साझा जिम्मेवारी आवश्यक रहेको बताउनुभयो। स्वास्थ्य केन्द्र प्रमुख शर्माले स्वास्थ्य केन्द्रले नियमित सेवासँगै पोषण प्रवर्द्धन र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो।
कार्यक्रममा वडा सचिव दिनेश सुवेदी,स्वास्थय केन्द्र सञ्चालक समितिका पदाधिकारीहरु रामेश्वर मिश्र,रुद्रप्रसाद सुवेदी , सिनियर अनमी अनिता ढकाल, ल्याब असिस्टेन्ट लिरिश्मा चौधरी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू अर्चना दुवाडी, सीता सुवेदी र किसुनी चौधरी लगायतको सहभागिता रहेको थियो।
स्वास्थ्य केन्द्र प्रमुख शर्माका अनुसार गर्भवती महिलालाई अण्डा, आयोडिनयुक्त नुन, कोलगेट र ब्रस तथा सुत्केरी महिलालाई घिउ, अण्डा, मह र आयोडिनयुक्त नुन लगायतका पोषण सामग्री वितरण गरिएको थियो।















प्रतिकृया दिनुहोस्