रत्ननगर, असार १ — संरक्षणलाई प्रभावकारी र दिगो बनाउने उद्देश्यले सोमबार सौराहामा संरक्षणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले नवनिर्वाचित कार्यसमिति तथा सरोकारवाला पक्षका लागि उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसँगको समन्वयमा आयोजित कार्यक्रममा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रसम्बन्धी ऐन, संरक्षणका लागि निकुञ्ज र मध्यवर्ती तहबाट भएका प्रयास, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, स्थानीय समुदायको जीविकोपार्जन तथा वन्यजन्तुबाट हुने क्षतिको राहत व्यवस्थालगायत विषयमा प्रशिक्षण प्रदान गरिएको मृगकुञ्जकी कार्यवाहक अध्यक्ष सरस्वती लामाले जानकारी दिइन्।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टरका प्रमुख रविन चौधरीले वन तथा वन्यजन्तु संरक्षणमा निकुञ्ज, नेपाली सेना, मध्यवर्ती क्षेत्र र स्थानीय समुदायले खेलेको भूमिकाबारे सहजीकरण गरेका थिए। उनले निकुञ्जमा रहेका वन्यजन्तुकै कारण सौराहासहित चितवनको पर्यटन क्षेत्र चलायमान रहेको उल्लेख गर्दै यसले स्थानीय समुदायको सशक्तीकरण तथा आयआर्जनमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
त्यसैगरी निकुञ्जका रेन्जर सुवास पोखरेलले निकुञ्ज ऐन तथा नियमावलीबारे जानकारी गराएका थिए। कार्यक्रममा सहभागीहरूले मानव–वन्यजन्तु द्वन्द्वका कारण बढ्दो चुनौती र क्षतिपूर्ति व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका निकायलाई थप संवेदनशील हुन आग्रह गरेका थिए।
मृगकुञ्जका कोषाध्यक्ष बालकृष्ण अम्गाईले संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय समुदायको विश्वास जित्ने गरी काम गर्न आवश्यक रहेको बताए। उनले निकुञ्ज र मध्यवर्ती क्षेत्रबीचको सम्बन्ध बलियो भए मात्र संरक्षण कार्य दिगो रूपमा अघि बढ्न सक्ने धारणा व्यक्त गरे।
कार्यवाहक अध्यक्ष लामाले संरक्षण र जीविकोपार्जनलाई सँगसँगै अघि बढाउँदै बाघेमैदान व्यवस्थापन तथा वन्यजन्तुको आहार व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिने बताइन्। “हामी निकुञ्ज र स्थानीय समुदायबीचको पुलका रूपमा काम गर्ने संस्था हौँ। दुवै पक्षको हित र न्याय सुनिश्चित हुने गरी संरक्षण अभियानलाई अगाडि बढाउँछौँ,” उनले भनिन्। कार्यक्रमको सञ्चालन मृगकुञ्जका कार्यालय सचिव यौवनकुमार पराजुलीले गरेका थिए।















प्रतिकृया दिनुहोस्