रत्ननगर, चितवन, असार १ — पर्यटन व्यवसायमा आबद्ध महिला तथा युवालाई लक्षित गरी उद्यमशीलतामा आधारित क्षमता अभिवृद्धि तालिम सोमबारदेखि सौराहामा सुरु भएको छ। तालिमको आयोजना चितवन उद्योग संघ रत्ननगर समितिले पर्यटन कार्यालय सौराहाको सहकार्य तथा चितवन उद्योग संघको समन्वयमा गरेको हो।
तालिमको उद्घाटन रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोले गरेका थिए। कार्यक्रममा बोल्दै उनले स्थानीय सरकारको सीमित स्रोतसाधनका कारण सौराहाको पर्यटन क्षेत्रमा अपेक्षाअनुसार लगानी गर्न नसकिएको बताए। उनले पर्यटन प्रवर्द्धनका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।
चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष सुवास गौतमका अनुसार तालिममा पर्यटकलाई प्रदान गरिने सेवाको गुणस्तर सुधार, महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीको बजारीकरण, पर्यटन उद्योगमा उद्यमशीलताका सम्भावना तथा चुनौतीलगायत विषयमा छलफल गरिनेछ।
पर्यटन कार्यालय सौराहाका प्रमुख प्रेमप्रसाद ढकालले स्थानीय कला, संस्कृति तथा उद्यमशीलतालाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। चितवन उद्योग संघका उपाध्यक्ष गोपालप्रसाद गैरेले व्यवसायिक सुरक्षा र उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेर संघले काम गरिरहेको बताए।
कार्यक्रममा चितवन उद्योग संघ रत्ननगर समितिका निवर्तमान अध्यक्ष उमाकान्त पौडेलले संघले उद्यमशीलता प्रवर्द्धनलाई अभियानका रूपमा अघि बढाएको र त्यसले सकारात्मक परिणाम दिन थालेको बताए।
तालिममा पर्यटन कार्यालय सौराहाका प्रमुख ढकालले पर्यटन विकासका लागि भएका काम र उपलब्धिबारे प्रस्तुति दिएका थिए। त्यसैगरी प्रशिक्षक बाबुशरण श्रेष्ठले खाद्य स्वच्छता तथा व्यवसायिक लेखा, कार्यक्रम अधिकृत कल्पना आचार्यले महिला तथा युवा उद्यमशीलताको वर्तमान अवस्था, तथा शिवप्रसाद भूषालले नेतृत्व विकास सम्बन्धी विषयमा सहजीकरण गरेका थिए।
रत्ननगर समितिकी कोषाध्यक्ष गीता सिंखडाले सञ्चालन गरेको कार्यक्रममा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, रेवान सौराहाका उपाध्यक्ष पुरुषोत्तम लामिछाने, वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष अनिल गुरुङ, विजय गिरी, साना पर्यटन व्यवसायी समूहका अध्यक्ष अमृत पौडेललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको समापनमा समितिका उपाध्यक्ष माधव थपलियाले धन्यवाद ज्ञापन गरेका थिए।















प्रतिकृया दिनुहोस्