काठमाडौँ । देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।


महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
त्यस्तै, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराईसहित मधेश प्रदेशका केही क्षेत्रमा हुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने सम्भावना पनि औँल्याएको छ ।
आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । कर्णाली प्रदेशको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बदली रहने तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
रातिको समयमा पनि कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । साथै तराई क्षेत्रमा हुरी चल्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।













प्रतिकृया दिनुहोस्