गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र ४५ वर्षीय गिरमान सिंह राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार दुर्घटना राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दी क्षेत्रमा भएको हो ।
रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा चोट लागेको थियो । दुवैजनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी पुर्याइए पनि उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जोहाङ र रिडीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
मृतक दुवै जनाको शव आज बिहान घटनास्थलमा मुचुल्का गरी पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।















प्रतिकृया दिनुहोस्