तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा निर्माण सम्पन्न भएको नगरस्तरीय अस्पतालमा दुई करोड ६४ लाखभन्दा बढी लगानी गरिएको छ । नगरपालिकाले निर्माण गरेको उक्त अस्पताल भवन तथा आवश्यक पूर्वाधारमा हालसम्म कुल दुई करोड ६४ लाख ३४ हजार ६५४ रुपैयाँ खर्च भएको जनाएको छ ।
सदरमुकाम दमौलीमा गण्डकी प्रदेश सरकार मातहतको प्रदेश अस्पताल सञ्चालनमा रहे पनि स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले दमौलीभन्दा करिब पाँच किलोमिटर पर नगरस्तरीय अस्पताल निर्माण गरेको हो । आर्थिक वर्ष २०७७/७८ देखि अस्पताल निर्माणको काम सुरु गरिएको थियो ।
नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर डा. राजु पौडेलका अनुसार अस्पताल भवन निर्माण, पिसिआर मेसिन, ल्याब सेटअप, जेनेरेटर, विद्युत् जडान, टायल, फर्निचर, ढोका फर्निसिङ, पर्खाल तथा अस्पताल पुग्ने सडक निर्माणलगायत शीर्षकमा बजेट खर्च गरिएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार अस्पतालबाट वडा नम्बर १० सहित वडा नम्बर ५, ६, ७, ८, ९ र ११ का नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । स्थानीयवासी तारापति पौडेलले दमौलीभन्दा नजिकमै स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिए ।















प्रतिकृया दिनुहोस्